Friday, October 5, 2012

Ram Prasad Memorial International Open Chess

ग्रान्डमास्टर फोमिनीलाई बुद्धिचाल उपाधि 
 इलाम असोज १३ । 
रसियाका ग्रान्डमास्टर अलेकजेन्डर फोमिनीले शनिबार इलाममा सम्पन्न राम प्रसाद गौतम स्मृति अन्र्तराष्ट्रिय खुला बुद्धिचालको उपाधि शनिबार जितेका छन् । प्रतियोगिताको १० औं चरण सम्म अपराजित उनले ८ अंक हासिल गरे । उनी सहित ५ खेलाडीको समान ८ अंक भएपनि वुगल्स टाईबेक प्रणाली अनुसार उनले पहिलो स्थान हासिल गरेका हुन् । समान ८ अंक हासिल गर्ने मध्य भारतका दिलीप दाश दोस्रो, बंगलादेशका फिडेमास्टर अमिनुल इस्लाम तेस्रो तथा अस्ट्रेलियाका इन्रटनेशनल मास्टर अलेकजेन्डर वोल चौथो स्थानमा रहे । नेपालका फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठ पाचौं स्थानमा रहे । पहिलो हुनेले ६० हजार, दोस्रोले ४० हजार तथा तेस्रोले २५ हजार पाउन सफल भए । चौथो र पाचौ हुनेले क्रमश १५ र १० हजार हासिल गरे । 
प्रतियोगिताको अन्तिम दिन नवौं चरणमा फोमिनी अस्ट्रेलियन आइएम वोलसंग बराबरीमा रोकिए भने दशौंमा नेपालका राजन पुरीलाई हराएका थिए । नवौं चरण सम्म अपराजित राजन अन्तिम चरणको हारले १३ औं स्थानमा पुगे । गजुरमुखी निर्माण कम्पनिको मुख्य प्रायोजन र नेपाल निर्माण ब्यवसायी महासंघ काठमाडौंको सहप्रायोजनमा सम्पन्न प्रतियोगितामा दोस्रो भएका दिलिपले नवौंमा भारतका आशुतोष कुमार र दशौंमा भारतकै सौरभ आनन्दलाई हराएका थिए । दुई साता अघि चरिकोटमा सम्पन्न माउन्ट गौरीशंकर खुल्ला बुद्धिचालमा पहिलो भएका इस्लाम भने नवौं चरणको खेलमा हेटौंडाका अनिल राजवाहकसंग बराबरीमा रोकिएका थिए । उनले अन्तिम चरणमा गोल्डेनगेट कलेजका मदनकृष्ण कायस्थलाई हराएका थिए । प्रतियोगितामा ७.५ अंक हासिल गरेका अनिल राजवाहक छैटौं तथा भारतका आर्यन सातौं स्थानमा रहे । आठौंमा भारतका सौरभ आनन्द, नवौंमा भारतका निलिन्द्र शेखर भट्टाचार्य तथा दशौंमा ध्रुवतारा क्लब झापाका निरज निरौला रहन सफल भए । तर सौरभले यू १४ तथा निरजले पुर्वाञ्चलतर्फको पहिलो स्थान हासिल गरेकाले मदनकृष्ण कायस्थले नवौं तथा राजन पुरीले १० औं तर्फको पुरस्कार पाए । एघारौं स्थानमा रहेका कृष्ण थापाले रेटिंग समूह तर्फको पुुरस्कार पाए । 
 गजुरमुखी चेस क्लब र इलाम जिल्ला बुद्धिचालसंघको आयोजनामा सम्पन्न प्रतियोगिताको उत्कृष्ट २० स्थानमा पर्ने तथा विभिन्न उमेर समूहका गरि ४० खेलाडीले नगद पुरस्कार पाएका थिए । स्थानीय इलामेलीतर्फ सुरेन्द्रकुमार राई पहिलो तथा तीर्थमान राई काजी दोश्रो भए । पूर्वाञ्चल तर्फको दोश्रो पुरस्कार भने धरानका चुडामणी राई कुलुङले हात पारे । गजुरमुखी चेस क्लब तथा जिल्ला बुद्धिचाल संघ इलामको संयुक्त आयोजनामा असोज ८ गतेबाट सञ्चालित प्रतियोगितामा ७ देशका १ सय ३९ खेेलाडीको सहभागीता रहेको थियो ।
उमेश केसी, अन्र्तराष्ट्रिय आर्विटर